कार्यकारी निर्देशकको भनाई
बिश्वमोहन अधिकारी
कार्यकारी निर्देशक
मन्तब्य
नेपालमा विद्यमान गरीब, पिछडिएका समूह तथा वेरोजगार युवाहरुलाई आर्थिक तथा सामाजिक विकासको मूल प्रवाहको रुपमा संलग्न गराई राष्ट्रिय समृद्धिको मुलप्रवाहमा ल्याउन आजको टड्कारो आवश्यकता छ । नेपाल एक कृषि प्रधान देश भएता पनि हाल सम्म निर्वाहमूखी परम्परागत उत्पादन प्रणालीलाई आधुनिक तथा व्यवसायिक कृषि उत्पादन प्रणालीमा उकास्न सकेको छैन । कम मात्रामा स्थापना भएका कृषि उपजमा आधारित उद्योगहरुलाई राष्ट्रिय तथा स्थानीय स्तरमा खपत हुने गरी कृषि तथा कृषिजन्य उत्पादन वढाउने खालका कार्यक्रमहरु अगाडी वढेमात्र यथेस्ट रुपमा अन्य उद्योग कलकारखानाहरु स्थापना गर्न सकिने देखिन्छ । जसकालागी उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकास गर्दै परम्परागत उत्पादन प्रणालीमा व्यापक परिवर्तन एवम् आधुनिक प्रविधिको उपयोग स्थानीय स्रोत साधनमा आधारित तथा बजार निर्देशित उत्पादन गरी आर्थिक सम्बृद्धि हाँसील गर्न युवा व्यवसायीहरुलाई बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुबाट विना धितो सहुलियत ब्याजदरमा आवधिक कर्जा उपलब्ध गराउने उद्देश्यले यस कोषको स्थापना भएको हो ।
पूँजीको अभाव, भौगोलिक विकटता, स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजार पहुँच नहुनु, आधुनिक पुर्वाधारको निर्माण नहुनु आदि समस्याहरुले ग्रामीण इलाकाका नागरिकहरु बजार तिर बसाई सराई गर्दा एकातिर गाउँको उत्पादनशील भूमीको उपयोग हुन सकेको छैन भने अर्कातिर वार्षिक रुपमा करीव ५ लाखको संख्यामा श्रम बजारमा प्रवेश गर्न तयार हुने युवाहरुलाई राज्यले उचित व्यवस्थापन गर्न नसकेमा वेरोजगार श्रमशक्ति वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यत्मक अवस्था आउन सक्दछ । युवा अन्तर्गत पर्ने हालका करीव ४० प्रतिशत जनसंख्या र कोभिड १९ का कारण विदेशबाट स्वदेश र शहरबाट गाउँमा प्रवेश गरेका युवा जनशक्तिको व्यवस्थापन गर्न कोषले अग्रणी भूमिका खेल्नु पर्ने आवश्यकता छ । तसर्थ वेरोजगारीको समस्या समाधानको लागि कोषले युवाहरुलाई प्रविधि मैत्रि बनाउँदै सीप र क्षमताको विकास द्वारा उद्यमशीलताको विकास गरी स्वरोजगार मूलक व्यवसाय सञ्चालन गर्न स्वरोजगार कोषबाट बिउ पूँजीको रुपमा विनाधितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउदै आएको छ ।
आगामी दिनमा स्वरोजगारीको अवसरहरु पहिचान गरी उत्पादनका साधनहरुमा पहुँच नभएका युवाहरु विशेषगरि पिछडिएका वर्ग, महिला, दलित, जनजाती, द्वन्द्वपिडित समुदायलाई प्राथमिकतामा राखी कृषि, कृषिजन्य, सेवामूलक तथा लघु उद्योग लगायतका परियोजनामा लगानी गर्दै स्वरोजगारीको अवसरहरु वृद्धि गर्न सरोकारवाला सबै निकाय एवम् समुदायको समन्वय तथा सहकार्यबाट मात्र सम्भव हुने भएकाले कोषको कार्यकारी निर्देशकको हैसियतले सम्बद्ध सवैमा समन्वय, सहकार्य एवं सहयात्राको लागि हार्दिक अनुरोध गर्दछु ।
विश्वमोहन अधिकारी
कार्यकारी निर्देशक
युवा तथा साना व्यवसायी स्वरोजगार कोष