अध्यक्षको मन्तव्य
श्री महेश्वर जंग गहतराज (अथक)
माननीय युवा तथा खेलकुद मन्त्री
मन्तब्य
देशको युवा शक्तिहरुलाई स्वरोजगार बनाउन राज्यले विभिन्न पहल कदमी गरे तापनि यस क्षेत्रमा आशातित सफलता प्राप्त गर्न सकिएको छैन । परिणाम स्वरुप वर्षेनी लाखौंको संख्यामा युवा जनशक्ति रोजगारको लागि विदेशीने गरेको कटु यथार्थ कसैबाट छिपेको छैन । स्वदेशमा नै रोजगारिका अवसरहरु सृजना गरी रोजगारीका लागि विदेश जान बाध्य युवा शक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकेको खण्डमा देशले छोटो समयमा नै आर्थिक विकासमा ठूलो फड्को मार्न सक्छ भन्ने मेरो बुझाई छ ।
मैले युवा तथा खेलकुद मन्त्रालयको कार्यभार सम्हालेको दिन देखि नै म यस प्रति गम्भिर छु । सोही अनुरुप सहकारी संस्थाहरुको माध्यमबाट युवाहरुमा वित्तिय चेतना फैलाई सिपमुलक तालिम प्रदान गर्ने तथा युवाहरुलाई स्वरोजगार कर्जा प्रवाह गरी स्वरोजगार बनाउने मेरो पहिलो लक्ष्य छ । हाल १७.६ प्रतिशत जनसंख्या गरिबीको रेखा मुनि रहेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा यसको दर अझ बढी छ । दैनिक हजारौंको संख्यामा रोजगारीका लागि विदेश भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्नु मेरो प्राथमिकतामा रहेको छ । देशमा रहेका युवा जनशक्तिलाई सीपमुलक तथा व्यवसायिक तालिम प्रदान गर्नुका साथै परम्परागत सीपलाई प्रबर्द्धन गर्दै द्वन्द्व पीडित, अपाङ्ग वा घाईते व्यक्ति, वेपत्ता तथा शहिद परिवार, उत्पीडित जाति, जनजाति तथा महिलाहरुलाई कर्जा लगानी गरी स्थानीय कच्चा पदार्थ र सीपमुलक परियोजना संचालन गरी स्थानिय स्तर मै युवाहरुलाई स्वरोजगार प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले आर्थिक रुपमा पिछडिएका विपन्न वर्ग, महिला, दलित, जनजाति, आदिवासी, द्वन्द्व पीडित, अपाङ्ग, घाईते परिवार एवंम परम्परागत सीप भएका युवाहरु व्यवसायिक खेती, कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम संचालन गर्न सहुलियत ब्याज दरमा कर्जा प्रदान गर्ने कार्य यस कोष मार्फत भै रहेको छ । साथै अशिक्षित र बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन अभिमुखिकरण, व्यबसायिक तथा सीपमुलक तालिम प्रदान गर्नुका साथै बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरु मार्फत बिना धितो सहुलियत ब्याज दरमा आवधिक कर्जा प्रदान गरी बेरोजगार युवाहरुको आय आर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन मद्दत पुराउदै आएको छ ।
आगामी दिनहरुमा यस कोषको प्रभावकारीतालाई अझ वृद्धि गर्दै नेपाली युवा जनशक्तिलाई स्वदेश भित्रै स्वरोजगारीका अवसरहरु श्रृजना गरी वर्षेनी हजारौंको संख्यामा रोजगारको लागि विदेशीनु पर्ने अवस्थाको अन्त्य गर्नु अपरिहार्य छ । त्यसको लागि आवश्यक नीति निर्माण तथा कार्य योजना निर्माण गरी देश भित्रै आवश्यक रोजगारको अवसरहरु श्रृजना गरी रोजगारका लागि युवा जनशक्ति विदेश पलायन हुने अवस्थाको अन्त्यको लागि कोषले आफ्ना कार्यक्रमहरु लाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्दछु ।
मा. महेश्वर जंग गहतराज (अथक)
मन्त्री
युवा तथा खेलकुद मन्त्रालय