क्रियाकलापहरु

युवाहरूको श्रम र सीपलाई सदुपयोग गरी देश विकासमा योगदान गर्न मद्दत गर्ने महान् उद्देश्य लिई नेपाल सरकारद्वारा युवा तथा साना उद्यमी स्वरोजगार कोषको स्थापना गरिएको हो। कोषले पुँजीको अभावमा आफ्नो प्रतिभा र सीपको सदुपयोग गर्न नपाएका १८ वर्षदेखि ५० वर्ष उमेर समूहका युवाहरूलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराई स्थानीय स्तरमा विकासलाई टेवा पुर्याेउँदै आएको छ।
यसबाट सीप र प्रतिभा हुँदाहुँदै पुँजीको अभावमा खुम्चिएर बस्न वा रोजगारीका लागि विदेश पलायन हुन बाध्य युवाहरूलाई आफ्नो गाउँठाउँ वा समुदायभित्रै प्रतिभा प्रस्फुटन गर्न समेत मद्दत पुगेको छ। कोषले नेपाल सरकारको यस लक्ष्यलाई मूर्तरूप दिन युवाहरूलाई कर्जा उपलब्ध गराउने प्रयास स्वरूप विभिन्न गतिविधिहरू गर्दै आएको छ।
कोषका प्रमुख कार्यहरूमा स्वरोजगार बन्न चाहने युवाहरूलाई बिनाधितो सुलभ कर्जा वितरण गर्नुका अतिरिक्त उनीहरूलाई सक्षम बनाउन आवश्यक तालिम प्रदान गर्ने र लगानी गर्ने वा लगानी गरिएको पुँजीको उपयोगका अवस्थाबारे अनुगमन गर्ने हो।
तालिम प्रदान गर्ने कार्य कोषले आफैँ नगर्ने भए पनि इच्छुक युवाहरूलाई स्वरोजगार कार्यक्रमसम्बन्धी अभिमुखीकरण तालिम, कर्जा लिने युवाहरूको सीप विकास तालिम तथा व्यवसायसँग सम्बन्धित क्षमता विकास तालिमहरू प्रदान गर्न आफ्ना सहयोगी केन्द्रीय, क्षेत्रीय तथा स्थानीय संस्था वा संगठनहरूलाई यसले परिचालन वा प्रोत्साहन गर्दछ।
साथै, स्वरोजगार कार्यक्रमअन्तर्गत सहभागी बैङ्क, वित्तीय संस्था तथा सहकारीहरूमार्फत् कर्जा प्रदान गर्ने कार्य बैङ्कको महत्वपूर्ण क्रियाकलाप हो। कोषले विभिन्न बैङ्क वा वित्तीय संस्थामार्फत् प्राप्त गरेको रकमलाई पुन: बैङ्क वा वित्तीय संस्थालाई प्रदान गर्छन् र सो रकम युवाहरूलाई स्वरोजगारीका लागि प्रदान गरिन्छ।
अनुगमन कोषको क्रियाकलापको अर्को अत्यन्त महत्वपूर्ण अङ्ग हो। कोषले कर्जा प्रदान गर्न सम्भाव्यता अध्ययनका साथै कर्जा लिएकाहरूको लगानीको अवस्थाको समेत निरन्तर अनुगमन गर्छ।