हाम्रो बारेमा

देशमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल सरकारबाट वि.स. २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको हो ।कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकासमार्फत् परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ।
कोषमार्फत् अशिक्षित र बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्नुका साथै बैङ्क र वित्तीय सस्थाहरूमार्फत् सहुलियत ब्याजदरमा बिनाधितो आवधिक कर्जा प्रदान गरिनेछ। निशुल्क रूपमा प्रदान गरिने ती सेवामूलक व्यावसायिक तालिमबाट बेरोजगार युवाहरूको आयआर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन मद्दत पुग्नेछ।
आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपाङ्ग, घाइते परिवार एव युवा तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिनेछ । त्यस्तो कर्जाबापत् प्रतिव्यक्ति बेरोजगार युवालाई अधिकतम रु. दुई लाख र बढीमा २५ जनाको प्रत्येक समूहलाई अधिकतम रु. ५० लाख प्रदान गरिनेछ।
कोषका मुख्य उद्देश्य देहायबमोजिम छ:

· पुँजीको अभावमा हुने प्रतिभा पलायन रोक्ने,

· बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने,

· शिक्षित तथा अर्धशिक्षित युवाहरूलाई स्वदेशमै रोजगार दिने,

· परम्परागत सीप भएका जातीय समुदायहरू, द्वन्द्वपीडित व्यक्ति, उत्पीडित जाति, जनजाति, पिछडिएको क्षेत्र तथा महिलालाई कर्जा लगानीमा प्राथमिकता दिने,



· व्यावसायिक खेती, पशुपन्छीपालन, कृषि तथा वनजन्य उद्योग, पर्यटन घरवास तथा रत्न पत्थरसम्बन्धी स्वरोजगारमूलक तालिम प्रदान गर्ने,

· सहर तथा बजार क्षेत्रमा ठेलागाडा, रिक्साजस्ता स्वरोजगारमूलक कार्यक्रममा स्वरोजगारका लागि कर्जा प्रदान गर्ने,

· सम्बन्धित क्षेत्रमै खपत हुने स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजनामार्फत् हुने उत्पादनलाई प्राथमिकता दिने, र

· "एक गाउँ एक उत्पादन" एव "एक सहकारी एक मुख्य चिनारी"सम्बन्धी परियोजनामा लगानी गर्न प्रोत्साहन गर्ने।
विशेषता

· कोषले बैङ्क तथा वित्तीय सस्थाहरूमार्फत् प्राप्त गरेको रकमलाई स्वरोजगार कार्यक्रममा प्रतिवर्ष ५ प्रतिशत ब्याजदरमा फेरि कर्जामा लगानी गर्ने,

· पुन:कर्जामार्फत् प्राप्त रकम सम्बन्धित बैङ्क तथा वित्तीय सस्थाले १० प्रतिशत ब्याजदरमा लगानी गर्ने,

· बेरोजगार युवाहरूलाई बिनाधितो रु. २ लाखसम्म आवधिक ऋण उपलब्ध गराउने र समूहमा कर्जा लिने भएमा बढीमा २५ जनाको समूहलाई अधिकतम ५० लाख उपलब्ध गराउने,

· बैङ्क तथा वित्तीय सस्था एव स्थानीय सहकारी सस्थाहरूले निर्धारण गरेको किस्ताबन्दीअनुसार साँवा र ब्याज समयमै तिर्ने ऋणीहरूलाई लागेको सम्पूर्ण ब्याजको ६० प्रतिशत कोषले अनुदान दिने,

· स्वरोजगार कार्यक्रमअन्तर्गत ऋण लिने सबै ऋणीको अनिवार्य रूपमा बीमा हुने र यस्तो बीमाको रकम कोषले प्रदान गर्ने,

· ऋणीको आवश्यकताअनुसार नि:शुल्क सीपमूलक तथा व्यावसायिक तालिम उपलब्ध गराउने ।
कस्तो व्यवसायले ऋण पाउँछन्

· व्यावसायिक खेती तथा पशुपन्छीपालन, कृषि तथा वन्य उद्योग, घरेलु तथा साना उद्योग र अन्य व्यापार व्यवसाय,

· सहर…बजार क्षेत्रमा रिक्सा, ठेलागाडालगायतका स्वरोजगारमूलक, सेवामूलक व्यवसाय,

· परम्परागत सीपयुक्त व्यवसाय,

· पर्यटन (home stay)सम्बन्धी व्यवसाय,

· स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजना, उत्पादित क्षेत्रमा नै खपत गर्ने परियोजना र एक गाउँ एक उत्पादनसम्बन्धी परियोजनाका साथै द्वन्द्वपीडित व्यक्ति, अपाङ्ग, घाइते र सहिद परिवार, उत्पीडित जाति, जनजाति, दलित तथा महिलाद्वारा सञ्चालन हुने परियोजनाहरूलाई विशेष प्राथमिकता दिने ।